परिचय
सार्वजनिक सेवा प्रसारण नेपाल स्थापना र ऐतिहासिक पहिलो वैठकको पृष्ठभूमिः
विश्वमा सन् १९२० को दशकदेखि सार्वजनिक सेवा प्रसारण (पीएसबी) को अभ्यास हुन थाले पनि नेपालमा सार्वजनिक सेवा प्रसारणको परिकल्पना प्रजातन्त्रको पुनस्थापना पछि भएको हो । २०४६ सालमा प्रजातन्त्र पुनस्थापना पछि जारी नेपाल अधिराज्यको संविधान, २०४७ ले प्रेस प्रति उदार दृष्टिकोण अपनाएको परिप्रेक्ष्यमा यस क्षेत्रमा सुधारका लागि सुझाव दिन गठित मस्यौदा कार्यदलले प्रसारण क्षेत्रलाई नीतिमा समेट्दै रेडियो तथा टेलिभिजन सम्बन्धी छुट्टै ऐन–नियम बनाउन सुझाएको थियो । २०६० सालमा रेडियो नेपाल र नेपाल टेलिभिजनको सुधारका लागि सुझाव दिन गठित समितिले पहिलो पटक यी दुई संस्थालाई गाभी सञ्चालन गर्नुपर्ने सुझावसहित सार्वजनिक सेवा प्रसारणको परिकल्पना गर्यो । उच्चस्तरीय मिडिया आयोग, २०६३ ले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजनिक सेवा प्रसारणमा लैजान कानुनी प्रबन्ध गर्नुपर्ने सुझाव दियो । संविधान सभाबाट नेपालको संविधान (२०७२) जारी भएसँगै गठित सूचना तथा सञ्चार सम्बन्धी उच्चस्तरीय समितिको सिफारिस बमोजिम राष्ट्रिय आमसञ्चार नीति, २०७३ जारी भयो । यो नीतिमा सार्वजनिक सेवा प्रसारणको स्थापना गरी रेडियो नेपाल र नेपाल टेलिभिजनलाई रुपान्तरण गर्ने व्यवस्था समेटियो । यसपछि सार्वजनिक सेवा प्रसारण विधेयक निर्माण प्रक्रिया प्रारम्भ भयो ।
२०७७ असार १५ गते सार्वजनिक सेवा प्रसारण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता भयो । दर्ता भएको चार वर्षपछि २०८१ भदौ ३१ गते संघीय संसदबाट विधेयक पारित भयो । २०८१ असोज २२ गते सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलबाट सार्वजनिक सेवा प्रसारण सम्बन्धी विधेयक प्रमाणीकरण भयो । ऐनको व्यवस्था बमोजिम प्रमाणीकरण भएको ३१औं दिन अर्थात् २०८१ कार्तिक २३ गतेबाट ऐन कार्यान्वयनमा आयो । नयाँ ऐनको कार्यान्वयन सँगै सार्वजनिक सेवा प्रसारण संस्था स्थापना भई रेडियो प्रसार सेवा विकास (समिति) गठन आदेश, २०४१ अन्तर्गत गठन भएको रेडियो नेपाल र सञ्चार सस्थान ऐन, २०२८ अन्तर्गत स्थापना भएको नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारण संस्थामा रूपान्तरण भएको हो ।
रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारणमा रुपान्तरण भएपश्चात गुणस्तरीय, विश्वसनीय तथा प्रभावकारी विषयवस्तु सहित जनउत्तरदायी सार्वजनिक सेवा प्रसारण संस्थाको रुपमा सार्वजनिक सेवा प्रसारण नेपाल सञ्चालन भइरहेको छ ।