स्वास्थ्य र शिक्षामा सार्वजनिक सेवा प्रसारण नेपाल बहस
काठमाडौँ । सार्वजनिक सेवा प्रसारण नेपालले संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा स्वास्थ्य र शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउने विषयमा भूमिका खेल्नुपर्नेमा जोड दिइएको छ ।
सार्वजनिक सेवा प्रसारण (पिएसवि) को पूर्वारम्भका अवसरमा आज आयोजित विषयगत छलफलमा सहभागी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले स्वास्थ्य र शिक्षाको पहुँच आम नागरिकसम्म पुर्याउन भइरहेका कामहरूबारे आफ्ना कार्यक्रम र समाचार मार्फत सूचना दिएर भूमिका खेल्नु पर्ने सुझाव दिनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा भइरहेको लगानी पर्याप्त नभएको भन्दै यस क्षेत्रलाई थप व्यवस्थित बनाउन नीतिगत सुधार आवश्यक रहेको औँल्याउनुभयो ।
उहाँले स्वास्थ्य क्षेत्रमा आवश्यकता अनुसार जनशक्ति, उपकरण र पूर्वाधार विकास लगायतको सुधारका लागि व्यवस्थापनको काम सुरु गरिसकेको बताउनुभयो ।
मन्त्री पौडेलले उपचार खर्च सहज बनाउने र ज्यादा खर्च गर्नुपर्ने अवस्था अन्त्य गर्न स्वास्थ्य बिमा कार्यक्रममा सुधार गरी नागरिकको योगदानमा आधारित बनाउनुपर्ने तथा निःशुल्क र सर्वसुलभ स्वास्थ्य सेवाका लागि राज्यले कोष निर्माण गर्नुपर्ने बताउनुभयो ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले गुणस्तरीय र निःशुल्क शिक्षाका लागि स्थानीय तहलाई बलियो बनाउदै संघ र प्रदेशले आवश्यक सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले प्राविधिक शिक्षा, पाठ्यक्रम र समकक्षतामा रहेका समस्या समाधानका लागि काम सुरु गरिसकेको जानकारी गराउनुभयो ।
शिक्षा मन्त्री भट्टराईले शिक्षामा भइरहेको लगानी अपर्याप्त रहेकाले तीनै तहको साझेदारीको लगानीका लागि प्रभावकारी कार्यान्वयन आवश्यक रहेको औँल्याउनुभयो ।
मन्त्री भट्टराइले संसदमा छलफलमा रहेको विद्यालय शिक्षा ऐनलाईलाई बलियो बनाउने, प्राविधिक शिक्षा नागरिकले खोजे अनुसार बनाउने र ड्राफ्ट भइरहेको उच्च शिक्षालाई समयानुकूल बनाउने विषयमा पिएसवि नेपालले छलफल र बहसका माध्यमबाट भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखी पिएसवि नेपालले मुख्य एजेन्डाका रुपमा अगाडी बढाउने बताउनुभयो ।
कार्यकारी अध्यक्ष डा.विष्टले महँगो स्वास्थ्य र शिक्षा प्रणालीका कारण नागरिकमा उत्पन्न खाडल हटाउने गरी नयाँ कोणबाट विषयवस्तुको उठान, संवाद र छलफलमार्फत निष्कर्ष निकाल्दै समस्या समाधानमा सहजीकरण गर्ने गरी अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सार्वजनिक सेवा प्रसारण नेपालको हिजो देखी शुरु भएको पूर्वारम्भ कार्यक्रममा विभिन्न विषयगत छलफलहरू भइरहेका छन् । छलफलबाट निस्किएका निष्कर्षबाट सार्वजनिक सेवा प्रसारण नेपाललाई अगाडी बढ्नका लागि मार्ग निर्देशन प्राप्त हुने अपेक्षा गरिएको छ ।