सार्वजनिक सेवा प्रसारण जनताको आवाज बन्न सक्नु पर्छ
काठमाडौँ- राजनीतिक दलका नेताहरूले सार्वजनिक सेवा प्रसारण विश्वसनीय सूचनाको साझा संस्था बन्नुपर्ने बताउनु भएको छ ।
पिएसबी नेपालको प्रि-लन्चिङ कार्यक्रम अन्तर्गत आज नेपाल टेलिभिजनमा भएको राजनीतिक बहसमा नेताहरुले यस्तो बताउनु भएको हो ।
बहसमा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले सार्वजनिक संस्था सत्ता पक्ष र प्रतिपक्ष कसैको नबनी जनताको बन्नुपर्ने बताउनु भयो ।
विगतको इतिहासमा रेडियो नेपाल र नेपाल टेलिभिजनले खेलेको भूमिकाको प्रशंसा गर्दै नेता पौडेलले बदलिएको अवस्थामा राज्यको सूचना सम्प्रेषण निष्पक्ष माध्यम पिएसबी बन्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा रास्वपा नेता सन्तोष परियारले सार्वजनिक सेवा प्रसारण स्वतन्त्र र निष्पक्ष तथा जनताप्रति जवाफदेही बन्नु पर्ने बताउनु भयो ।
सामाजिकीकरणको मुख्य संस्थाको रुपमा संचार माध्यम रहेको भन्दै संविधानले ब्यवस्था गरेको समावेशिता, विविधता र समानुपातिक प्रतिनिधित्वको सुनिश्चिताको वातावरण निर्माण गर्न पिएसबीले भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो ।
त्यसैगरी, जनता समाजवादी पार्टीकी नेतृ रन्जुकुमारी झाले सार्वजनिक सेवा प्रसारण जनताको आवाज बन्नु पर्ने र उनीहरूको आवाजलाई नै बुलन्द गर्नुपर्ने धारणा राख्नु भयो ।
संविधानमा रहेका मौलिक हकहरुको कार्यान्वयनमा सार्वजनिक सेवा प्रसारणको ध्यान जानुपर्ने नेतृ झाको भनाइ थियो ।
पिएसबी नेपालले आजदेखि सुरु गरेको प्रि-लञ्चिङ्ग कार्यक्रम भोलि र पर्सि पनि जारी रहने छ।
कार्यक्रमको समापन पर्सि माघ ३ गते हुने छ।।