रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजनिक सेवा प्रसारणमा रुपान्तरणको कार्य सुरु
काठमाडौँ । रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकीकृत गरी छुट्टै स्वतन्त्र प्रसारण निकाय सार्वजनिक सेवा प्रसारणमा रूपान्तरण गर्ने कार्य सुरु भएको छ ।
सार्वजनिक प्रसारण विधेयक राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलमा रहेको छ ।
यसै सन्दर्भमा रेडियो नेपालसँग कुरा गर्नुहुँदै सञ्चार सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई स्वतन्त्र, स्वायत्त, जनपक्षीय र व्यवस्थित बनाई प्रसारणमा ल्याउन विधेयकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
मन्त्री शर्माले संसदमा हुने सकारात्मक छलफल र सुझाव ग्रहण गर्दै प्रसारण ऐनको मूल मर्मलाई मर्न नदिई विधेयक परिमार्जन गर्दै अघि बढाइने बताउनुभयो ।
स्वायत्त प्रसारणको विषयमा व्यापक छलफल, विश्लेषण आवश्यक पर्ने भन्नुहुँदै मन्त्री शर्माले आर्थिक व्यवस्थापन र प्रसारणको व्यवहारिक सञ्चालन र परिमार्जनबारे उपयुक्त छलफल आवश्यक रहेको मन्त्री शर्माले बताउनुभयो ।
मन्त्री शर्माले विधेयकमा आएका व्यवस्थाका आधारमा रेडियो नेपाल र नेपाल टेलिभिजनलाई कामको प्रकृति, इतिहास र अस्तित्व अनुरुप एकीकृत सार्वजनिक सेवा प्रसारणमा रूपान्तरण गरिने बताउनुभयो ।