तपाईँ सुन्दै हुनुहुन्छः

पिएसवी शुभारम्भ: दर्शक र श्रोताको माग अनुसार प्रसारण सामग्री निर्माण गर्न विज्ञहरुकाे सुझाव

काठमाडौँ । सार्वजनिक सेवा प्रसारण (पिएसवी) ले दर्शक र श्रोताको माग अनुसार आफ्नो प्रसारण सामग्रीहरूमा निरन्तर सुधार र परिमार्जन गर्दै लैजानुपर्नेमा सञ्चार क्षेत्रका विज्ञहरुले सुझाव दिनुभएको छ । 

पिएसवीको पूर्वारम्भका अवसरमा आज आयोजित सार्वजनिक सेवा प्रसारणको अभ्यास, चुनौती र सम्भावनाहरू शीर्षकको विषयगत छलफलमा सहभागी विज्ञहरूले प्रसारण सामग्री मार्फत् आम जनताको दैनिक जीवनलाई सहज बनाउँदै लैजाने तर्फ सार्वजनिक सेवा प्रसारणले ध्यान दिनुपर्ने बताउनुभयो । 

सार्वजनिक सेवा प्रसारणलाई सरकारी मुखपत्र बन्नबाट रोक्दै प्रसारण सामग्रीमा विविधता ल्याउन र जनसहभागिता बढाउन समेत विज्ञहरुले त्यस अवसरमा सुझाव दिनुभयो । 

कार्यक्रममा सञ्चार कानुनका विज्ञ काशीराज दाहालले सरकारको प्रभावबाट मुक्त भई स्वतन्त्र, निष्पक्ष र प्रतिस्पर्धी सञ्चारमाध्यमका रुपमा स्थापित हुनु नै पिएसवीका लागि अहिलेको मुख्य चुनौती रहेको उल्लेख गर्नुहुँदै त्यसका लागि नवीन प्रविधिहरूको उपयोग र निरन्तर कानूनी सुधारमा जोड दिन सुझाव दिनुभयो । 

नेपाल टेलिभिजनका पूर्व अध्यक्ष एवं महाप्रबन्धक निरविक्रम शाहले सरकारका नीति र योजनाहरूलाई जनपक्षीय बनाउँदै सफल कार्यान्वयनका लागि प्रसारणका माध्यमबाट योगदान पुर्याउनु नै सार्वजनिक सेवा प्रसारणको मुख्य दायित्व हुने बताउनुभयो । 

यस्तै कार्यक्रममा वरिष्ठ पत्रकारहरू मणि राणा र बबिता बस्नेतले सञ्चारमाध्यमले दिने सूचनामा जनताको विश्वास घट्दै गएको अहिलेको अवस्थामा सार्वजनिक सेवा प्रसारणले स्वतन्त्र र निष्पक्ष सूचना दिन सके राज्य र जनता दुबैलाई फाइदा पुग्ने बताउनुभयो । 

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले जनताको दैनिक जीवनसँग जोडिएका विषयहरूमा खोज र अनुसन्धानमा आधारित सामग्रीहरूमा जोड दिन सुझाव दिनुभयो । 

छलफल कार्यक्रममा सार्वजनिक सेवा प्रसारण सञ्चालक समितिका सदस्य फुलमान बल तामाङले कानुनमा नै राज्य र जनताका प्राथमिकताहरूको प्रवद्र्धन गर्नु सार्वजनिक सेवा प्रसारणको मुख्य दायित्व तोकिएको हुनाले प्रसारण सामग्रीहरूले यसै दायित्वलाई प्राथमिकता दिने बताउनुभयो ।

Back to top button