तपाईँ सुन्दै हुनुहुन्छः

पिएसबीमा प्रविधि रूपान्तरण र आर्थिक सुनिश्चितता: चुनौती र अवसरपिएसबीमा प्रविधि रूपान्तरण र आर्थिक सुनिश्चितता: चुनौती र अवसर

काठमाडौँ । प्रविधिसँग सम्बन्धित सरकारी निकायका प्रतिनिधि तथा आइटी विज्ञले नवीनतम प्रयोगको उपयोग गरी आफूसँग भएका कार्यक्रमहरूलाई डिजिटलाइज्ड गर्न सके सार्वजनिक सेवा प्रसारण (पिएसबी) ले आर्थिक लाभ लिन सक्ने बताउनुभएको छ ।

पिएसबीको पूर्वारम्भ (Pre Launcing) कार्यक्रम अन्तर्गत आज आयोजित सार्वजनिक सेवा प्रसारणको आर्थिक सुनिश्चितता र प्रविधि रुपान्तरणका विषयमा आयोजित  छलफलमा सहभागी विज्ञहरूले नवीनतम प्रविधिको प्रयोग गरी दर्शक र श्रोताका मन छुने कार्यक्रम उत्पादन गर्न सुझाव पनि दिनुभयो ।

सार्वजनिक सेवा प्रसारण सेवाको प्रसारण सामग्रीमा विविधता ल्याउन इन्टरनेट प्रसारण प्रविधिसमेत अबलम्बन गर्न विज्ञहरूको सुझाव थियो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह सचिव एवं पिएसबी नेपालका सञ्चालक समिति सदस्य गौरव गिरीले सञ्चार मन्त्रालय अहिले  पिएसवीको कानून तर्जुमाको चरणमा रहेको जानकारी दिनुभयो।

यसैगरी, राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाश कुमार श्रेष्ठले सामूहिक ढङ्गबाट अघि बढ्न सके  सार्वजनिक सेवा प्रसारणले सबै प्लाटफर्ममा आफ्नो उपस्थिति जनाउन सक्ने र आर्थिकरुपमा पनि सबल बन्न सक्ने बताउनु भयो।

यसैगरी, नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडीले  सार्वजनिक सेवा प्रसारण विस्तारका लागि पूर्वाधारहरू सामूहिक रुपमा प्रयोग गर्न  नेपाल टेलिकम तयार रहेको बताउनुभयो।

कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका उप निर्देशक डा ।प्रदीप पौडेलले प्रविधि र विषय बस्तु दुबैमा रूपान्तरण गर्न सके पिएसबीको भविष्य उज्ज्वल रहेको दाबी गर्नुभयो ।

सार्वजनिक सेवा प्रसारण नेपालका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेले प्रविधिको प्रयोगका हिसाबले  सार्वजनिक सेवा प्रसारण नेपाल दक्षिण एसियामा नै अब्बल रहेको तथ्याङ्क पेश गर्नुभयो ।

यसैगरी, मल्टिमिडिया विज्ञ करुण थापाले उपभोक्ताको आवश्यकता र चाहाना अनुरूपमा कार्यक्रमहरू निर्माण गर्न पिएसबी नेपालको ध्यान जानुपर्ने सुझाव दिनुभयो ।

पिएसबी पूर्वारम्भ कार्यक्रम अन्तर्गत विभिन्न १० वटा विषयवस्तुमा बृहत् छलफल भएको थियो ।

विभिन्न क्षेत्रमा विज्ञ र सरोकारवाला निकायका प्रतिनिधिहरूले सार्वजनिक सेवा प्रसारणको विषयवस्तु र  प्रविधिसँगै आर्थिक रुपान्तरणको विषयमा विभिन्न राय र सुझाव दिनुभएको थियो ।

पिएसबी पूर्वारम्भ कार्यक्रम आज समापन हुनेछ ।।

Back to top button