संक्षेपमा नेपाल टेलिभिजन

नेपाल टेलिभिजन वि.सं. २०४१ साल माघ १७ गते परियोजनाका रुपमा शुरु भएको थियो । स्थापनाको एक वर्षभित्रै २०४२ साल मंसिर १७ गते यो संस्थानमा परिणत भयो । २०४२ साल पौष १४ गते बाट यसले आफ्नो नियमित प्रसारण प्रारम्भ गरेको हो । नेपाल टेलिभिजन संचार संस्थान ऐन २०२८ अन्तर्गत गठन भएको संस्थान हो । यसले राष्ट्रिय प्रसारण ऐन,२०४९ र राष्ट्रिय प्रसारण नियमावली,२०५२ का अधिनमा रही कार्यक्रम उत्पादन एवं प्रसारण गर्दे आएको छ । वि.सं. २०२८ सालको संचार नीतिले नेपालमा टेलिभिजन प्रसारणको सम्भाव्यतावारे खोजी गर्ने उल्लेख गरेको थियो । सोही अनुरुप वि.सं.२०३७ सालमा गठित शाही प्रेस आयोगले टेलिभिजन स्थापना गर्ने सम्बन्धमा सम्भाव्यता अध्ययन गरी योजनाबद्ध रुपमा कार्य सञ्चालन गर्न सुझाब दियो । तिनै सुझाव र मुलुको संस्कृतिको संरक्षण र सम्बर्धन गर्दै सामाजिक, राजनीति र आर्थिक विकासमा सघाउ पुर्याउने ध्येयकासाथ नेपाल टेलिभिजनको स्थापना भएको हो ।